ब्याच नम्बर ६९ : कांग्रेस सांसदको सुटकेसमा ३० किलो चरेस

0
64

यो सन् १९९७ अन्तिमतिरको घटना हो। त्यो बेला लागुऔषध नियन्त्रण इकाइको कार्यालय ठमेलमै थियो। कार्यालय प्रमुख हुनुहुन्थ्यो सुरेन्द्र पाल। धेरै दिनदेखि परिवारलाई समय नै दिन पाएको थिइनँ। सामानहरु पनि किन्नुपर्ने थियो। त्यसैले त्यस दिन त्यो अफिसबाट अलि चाँडो निस्किएँ। सामान न्युरोडमै हो किन्ने। श्रीमतीलाई मोटरसाइकलमा राखेर न्युरोड गएँ। वडा कार्यालयको कम्पाउन्डमा लगेर मोटरसाइकल राखेर बाहिर निस्किएको मात्र थिएँ, वाकिटकीमा सुरेन्द्र सरको कल आयो।

‘ए भाइ, एक पटक विदेशतिर समन्वय गर्नुपर्ने केस आइपुग्यो। केस अलि गम्भीर नै छ। अफिसमा केशव खरेल कुरेर बसेका छन्। तिमी आउनुपर्यो’ भन्नुभयो। किनमेल गर्न गएको। कम्पाउन्ड बाहिर श्रीमती कुरेर बसेकी थिइन्। बाहिर निस्किएर अफिसबाट अर्जेन्ट कल आयो अफिस जानुपर्यो भनें।

उनी रिसाउने भइहालिन्। अब रिसाएर के गर्ने। प्रहरीको श्रीमती भएपछि यस्तै हो। कतिखेर के सूचना आउँछ के थाहा। जान त किनमेल गर्नै गएको हो नि। अब अर्जेन्ट भनेपछि जानै पर्‍यो। कम्पाउन्डमा फर्किएर मोटरसाइकल स्टार्ट गरें। श्रीमती गनगन गर्दै मोटरसाइकल पछाडि बसिन्। कार्यालय पुगुन्जेलसम्म उनी गुनगुन गरिरहेकी थिइन् पछाडि।

कार्यालयमा पुग्दा खरेल ब्यग्र भएर बसिरहेका थिए। त्यो बेलामा नेपालबाट जापानमा शाही नेपाल वायुसेवा निगमको फ्लाइट जान्थ्यो। सूचना त्यही फ्लाइटबारे थियो। शंकामा थिए, फ्लाइटमा रहेका भिआइपीहरु। नेपाली कांग्रेसको एक टोली अमेरिका हिँडेको थियो। त्यो टोलीका सबैको नाम त थाहा भएन। सुशील कोइराला र राष्ट्रिय सभाका सांसद लालकाजी गुरुङ थिए।

शंकामा लालाकाजी। उनी भारतीय सेनाबाट अवकाश पाएका कर्नेल। नेपाली कांग्रेसले उनलाई राष्ट्रिय सभाको सांसद बनाएको थियो। उनी कांग्रेसको नेपाल भूतपूर्व सैनिक संघको अध्यक्ष पनि थिए। उनीहरु जापानलाई ट्रान्जिट बनाएर अमेरिका जाँदै थिए। लालकाजीले २ वटा सुटकेस बोकेका थिए। दुवै सुटकेसमा भिआइपीको ट्याग थियो।

सूचना थियो, ‘त्यो सुटकेसमा चरेस छ।’ चरेस राख्ने लालकाजी। उनीहरु अमेरिकामा सोसलिस्ट इन्टरनेसनलको कार्यक्रममा भाग लिन हिँडेको खुल्यो।

जापान ट्रान्जिट। एक रात जापानमा बसेर दोस्रो दिन अमेरिका उड्ने फ्लाइट सेड्युल रहेको खुल्यो। लालकाजीले त्यो चरेस जापानमा छाड्न बोकेको भन्ने समेत आयो। सूचना बढो गम्भीर थियो। कांग्रेसको भिआइपी टोली। सबै जना भिआइपीकै दर्जा। तर सुटकेसमा छ चरेस।

नेपालमा भिआइपी भनेपछि त पुगिहाल्यो। नेपालको विमानस्थलमा कसले रोक्ने। त्यसमा पनि भिआइपीकै ट्याग लागेको सुटकेस। नेपालको एयरपोर्टबाट सहजै चरेस भरिएको सुटकेस विमानस्थलभित्र पुग्यो। सुशील कोइराला समेत टिममा भएकाले उनको संलग्नताबारे पनि बुझ्नैपर्‍यो। सुटकेस कसले बोकेको भनेर बुझ्दा लालकाजीले भन्ने आयो। टोलीमा भएका अन्यको संलग्नताबारे बुझ्दा लालकाजीबाहेक अन्यलाई सुटकेसबारे थाहा छैन भन्ने आयो।

सूचना आइसक्दा यता विमानस्थलबाट प्लेन उडिसकेको थियो। यतै रोक्न सम्भवै भएन। अब चरेस फेला पर्नसक्ने त जापानमै हो। त्यसैले ती सबै सूचना जापानको लागुऔषध हेर्ने टिमलाई जानकारी गराउनुपर्ने भयो।

लागुऔषध अनुसन्धान भनेको एक देशमा मात्र हुँदैन। धेरै देशका एजेन्सीहरु मिलेर अनुसन्धान गर्छन्। सूचना आदानप्रदान हुनु सामान्य नै हो। लागुऔषधबारे अनुसन्धान गर्ने जापानको प्रहरी टोलीलाई फ्लाइट नम्बर, भिआइपीहरु, शंकास्पद लालकाजी र उनको साथमा रहेको २ वटा सुटकेस भनेर सन्देश पठाएँ।

उता सबै जानकारी दिएपछि यता लालकाजीबारे बुझ्न थाल्यौं। उनी यस अगाडि पनि चरेस कारोबारमा संलग्न रहेको सूचना आयो। उनलाई कसैले झुक्याएको नभई उनले भिआइपी टोलीले पाउने सुविधाको दुरुपयोग गरेर चरेस लैजान खोजेको देखियो।

यो त झन् गम्भीर कुरा आयो। कार्यालयमा बसिराख्नुको कारण थिएन। दिनुपर्ने जानकारी दिइसकेका थियौं। अब बाँकी काम जापानकै प्रहरीको थियो। अनि म श्रीमती लिएर घर फर्किएँ। यति जानकारी दिएपछि त चरेस राखेको सुटकेस सहित पक्कै पनि लालकाजी पक्राउ पर्छन् भन्ने थियो। किनकी खबर पक्का थियो। शंका मात्र हैन, दुई वटा सुटकेसमा १५–१५ किलो गरेर ३० किलो चरेस राखिएको थियो। जापानमा ३० किलो चरेस भनेको धेरै हो।

बिहानै कार्यालयमा गएर जापानमा सम्पर्क गर्‍यौं। तर छक्कै पर्ने सूचना आयो। न लालकाजी फेला परे न उनले चरेस बोकेर लगेको सुटकेस। विमानस्थलमा जाँच गर्दा एक जना जापानी नागरिक कम्मरमा बोकेरको अढाई किलो चरेस सहित पक्राउ परेका रहेछन्। तर उनी त्यो टोलीका सदस्य थिएनन्। सूचना पो गलत थियो कि भन्ने पनि लाग्यो। खरेललाई सोधें, ‘अनि सुटकेस त फेला परेन रे। गलत सूचना थियो कि क्या हो?’

खरेलले भने, ‘हैन सर, हन्ड्रेस पर्सेन्ट सुटकेसमा चरेस थियो। उतै केही गडबड भयो होला।’ विमानस्थलमा प्रहरीको चहलपहल बढी भयो की? उनीहरुले चरेस राखेको सुटकेस छाडेर भागे की? भन्ने लाग्यो। ‘तिमीहरु एयरपोर्टमा सादा पोशाकमा गएका थियौ कि ड्रेसमा’ भनेर जापानको प्रहरीलाई सोधें।

उनीहरुले भने, ‘चारैतिर ड्रेस लगाएका प्रहरी थिए। अनि चरेस फेला पार्ने कुकुर पनि। तर फेला परेन।’ ज्या! गडबड भइहालेछ नि। अब जताततै प्रहरी, त्यसमा पनि कुकुर बोकेर यात्रु सुँघाउँदै हिँडेपछि त यस्ता कारोबारीले चाल पाइहाल्छन् नि। विमानस्थलमा प्रहरीको चहलपहल बढी देखेपछि कारोबारी सामान छाडेर भाग्न सक्छन्। त्यसैले यस्ता केस गोप्य रुपमा अनुसन्धान गरिन्छ।

नेपालमा हामीले अप्रेसन गर्दा लुकेर गर्छौं। विमानस्थलका प्रहरीलाई समेत खबर गर्दैनौं। हाम्रै टोली हुन्छ विमानस्थलमा। उनीहरु सादा पोशाकमा खटिन्छन्। उनीहरुलाई सपोर्ट चाहिएको अवस्थामा अर्को टोली पनि जान्छ। तर सादा पोशाकमा। शंका लागेको सामान र व्यक्ति नियन्त्रणमा नआएसम्म कुकुर लैजाने, प्रहरी ड्रेस लगाएर उभ्याउने गर्दैनौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here