महिलालाई असुरक्षित सामाजिक सञ्जाल

0
67

२०७६ जेठ दोस्रो साताको कुरा हो– महानगरीय प्रहरी परिसर काठमाडौंमा २० वर्षीया एक युवती आँखामा टिल्पिल् आँशु लिएर अनुसन्धान अधिकृतको प्रश्नको उत्तर दिंदै थिइन् । आमा र माइजूसँगै प्रहरी कार्यालय आएकी उनको छेउमै रहेकी आमा कहिले पानी पिउँथिन्, कहिले उठेर यताउता गर्थिन् । उनको अनुहारमा छोरीको भविष्यको चिन्ता प्रष्टै झल्कन्थ्यो ।

सामाजिक सञ्जालको प्रयोग मार्फत भइरहेका अपराधबाट पीडित भएका मध्ये ८० प्रतिशत माथि महिला छन्।
कथा २०७५ असारबाट शुरू हुन्छ । एकदिन बालाजुकी रमिला (नाम परिवर्तन) को मोबाइलमा अपरिचित युवकको फोन आयो । उनी थिए सिन्धुपाल्चोक मेलम्चीका तेजबहादुर विक । फोन वार्ता बढ्दै गयो, रमिला ती युवकसँग फोनमा घण्टौं गफिन थालिन् । कहिले सिन्धुली, कहिले पोखरा घर बताउने तेजबहादुर घरमै आउजाउ गर्न थाले । लामो बिमारीले थलिएर आठ कक्षा पढ्दापढ्दै स्कूल जान छाडेकी, घरबाहिर खासै ननिस्कने छोरीको अनुहारमा खुशी देखेपछि आमाबुबा पनि खुशी थिए । आमाबुबाको समेत समर्थन पाएपछि घुम्न जाने र केटासाथीलाई घरमै ल्याउन रमिलालाई समस्या भएन ।

यो क्रम बढ्दै जाँदा रमिलाका आमाबुबाले तेजबहादुरमाथि घरपरिवार भेट्टाउन र बिहे गर्न दबाब बढाए । प्रष्ट ठेगाना नबताएका, आफ्नो थर पनि ढाँटेका तेजले त्यहीबीच एकदिन रमिलालाई भगाएर जोरपाटीस्थित डेरामा पुर्‍याए । केही दिन डेरामा बसेपछि रमिलाले परिवार भेट्टाउन तेजलाई कर गर्न थालिन् । माइतीले पनि टीका फुकाउनलाई पटकपटक बोलाएपछि रमिला माइत गइन् ।

तर, गाउँ जान्छु भनेर हिंडेका तेज भने भारत पुगे । उतैबाट फोन गरेर रमिलालाई भारत आउन कर गर्न थाले । ज्वाईंको शंकास्पद व्यवहार देखेर माइतीपक्षले छोरी पठाउन नमानेपछि एक दिन तेजले रमिलाका भाइको फेसबूक मेसेन्जरमा अश्लील भिडियो पठाइदिए । त्यसमा सहमतिमा खिचिएको शारीरिक सम्पर्कको भिडियो र केही नग्न तस्वीर थिए । तेजको यो व्यवहारले रमिला विक्षिप्त भइन् ।

आमाबुबाका लागि पनि यो अकल्पनीय घटना थियो । छोरीले आत्महत्या गर्न खोजेपछि रमिलाका आमाबुबा उजुरी लिएर प्रहरीमा पुगे । उजुरी परेको केही दिनमा पक्राउ परेका तेज विरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । उनी २० हजार रुपैयाँ धरौटी राखेर तारेखमा छुटेका छन् ।

फेसबूक मार्फत भएको चिनजानले लमजुङकी २२ वर्षीया आशा (नाम परिवर्तन) र बझाङका सूर्यबहादुर थापालाई प्रेम सम्बन्धमा पुर्‍यायो । ‘भर्चुअल’ दुनियाँबाटै उनीहरू यति नजिकिए कि छिट्टै बिहे गर्ने योजना समेत बनाए । इमो, भाइबर र फेसबूक मेसेन्जरमा घण्टौं कुरा गर्ने उनीहरूबीच एक–अर्का विना बाँच्नै नसक्नेसम्मको कुरा हुन थाल्यो ।

त्यही क्रममा एक दिन सूर्यबहादुरले यौनाङ्ग देखिने गरी नग्न तस्वीर खिचेर पठाउन भने । आशाले त्यसो गर्न सक्दिनँ भनेपछि उनले ‘आफ्नो मायामा विश्वास नगरेको’ भनेर घुर्की देखाए । ‘म उसलाई असाध्यै माया गर्थें, आखिर बिहे उसैसँग गर्ने हो के फरक पर्ला र भनेर फोटो खिचेर पठाएँ ।’

सूर्यबहादुरले त्यहीबीचमा एक दिन निकै गाह्रो परेको भन्दै ५० हजार रुपैयाँ मागे । जब उनले पैसा पठाउन नसक्ने कुरा गरिन्, नग्न फोटो फेसबूकमा अपलोड गरिदिने धम्की दिए । आशा भन्छिन्, ‘उसले फोटो देखाएर ब्ल्याकमेलिङ शुरू गर्‍यो । मैले बाध्य भएर पैसा पठाएँ ।’ त्यसपछि त के चाहियो, फोटो भाइरल गरिदिने धम्की सहित सूर्यबहादुरले पटकपटक पैसा माग्न थाले । अति भएपछि आशा ९ वैशाख २०७६ मा उजुरी लिएर महानगरीय प्रहरी परिसर, काठमाडौं पुगिन् । त्यसको केही दिनपछि पक्राउ परेका सूर्यबहादुरलाई प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत अपराध र ठगीको कसुरमा मुद्दा चलाएको छ ।

काठमाडौंको सामाखुसी रानीवारीमा रहेको नेपाल पुलिस स्कूलमा १७ चैत २०७३ मा एउटा घटना भयो । टोखा घर भएका १४ वर्षीय एक विद्यार्थी मृत भेटिए । प्रहरीको अनुसन्धानबाट उनले स्कूलको छतबाट हामफालेर आत्महत्या गरेको देखियो । आफ्नै स्कूलकी केटी साथीको नक्कली फेसबूक आईडी बनाएर अश्लील सामग्री पठाएको मामिला आत्महत्यासम्म पुगेको थियो ।

भएको के रहेछ भने– कक्षा ८ मा पढ्ने यी विद्यार्थीको सँगै पढ्ने केटी साथीसँग एकदिन झगडा भयो । त्यही निहुँमा उनले केटी साथीको नामबाट ‘नक्कली फेसबूक आईडी’ बनाए । त्यसबाट केटीको बुवालाई अश्लील सामग्री पठाइदिए ।

केटीको बुबाको फेसबूकमा छोरीको नामको आईडीबाट अश्लील सामग्री अपलोड भएको देखेपछि बुबाले छोरीलाई बोलाएर सोधे । उनले आफ्नै कक्षाको साथीले यस्तो गरेको हुनसक्ने जवाफ दिइन् । केटीका अभिभावक विद्यालय पुगेपछि विद्यालयकी तत्कालीन वार्डेन शर्मिला गुरुङले ती विद्यार्थीलाई आइन्दा यसो नगर्न र स्कूल आउँदा आमालाई लिएर आउन भनिन् । तर, ती विद्यार्थी घर नगएर स्कूलको होस्टलको भवनबाट हाम्फालेर आत्महत्या गरे । कक्षा ८ मा भएको सामान्य झगडा फेसबूकमा चरित्रहत्या हुँदै आत्महत्यासम्म पुग्यो ।

‘असामाजिक सञ्जाल’
सामाजिक सञ्जालको प्रयोग कतिसम्म डरलाग्दो बन्दैछ भनेर देखाउने केही दृष्टान्तहरू हुन्, यी । यसको रोचक पक्ष के छ भने सामाजिक सञ्जाल प्रयोग मार्फत हुने अपराधबाट पीडित हुनेहरूमध्ये अधिकांश महिला छन् । सामाजिक सञ्जाल महिलाका निम्ति असुरक्षा र असामाजिक सञ्जाल बनिरहेको छ । नेपाल प्रहरीको आँकडाले नै सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यमको प्रयोगबाट हुने अपराधका करीब ९० प्रतिशत पीडित महिला रहेको देखाउँछ ।

के बालिका, के वयस्क, के वृद्धा– सबै उमेरका महिला यस्तो अपराधको निशानामा परेका छन् । मनोविद् करुणा कुँवर भन्छिन्, ‘बालिका, किशोरी र युवतीदेखि सम्बन्धविच्छेद गरेका महिला समेत यो समस्यामा छन् ।’ हुन पनि, किशोरी–युवतीहरू अश्लील तथा फोटोशपबाट बनाइएका तस्वीर र सहमतिमा खिचिएका शारीरिक सम्बन्धका भिडिओ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भइदिने समस्यामा परेका देखिन्छन् भने वयस्क तथा पाका महिलाले सामाजिक सञ्जाल मार्फत ठगी र आर्थिक शोषण व्यहोरिरहेका छन् ।

एउटा उदाहरण हेरौं । २२ वर्षदेखि कलाकारितामा सक्रिय काभ्रेकी भीमा मैनाली रेडियो तथा टेलिभिजन कार्यक्रम चलाउँछिन् । थोरै भए पुगिसरी, जीवनचक्र लगायतका टेलिशृंखलामा काम गरेकी उनी केही महीना अघिसम्म टिभी टुडेमा ‘रिफ्लेक्सन प्रारियन मिडिया’ द्वारा उत्पादित ‘यौनका कुरा’ नाम गरेको कार्यक्रम पनि चलाउँथिन् ।

कार्यक्रम चर्चित थियो । युट्यूब च्यानलमा त्यसका हजारौं दर्शक थिए । कार्यक्रम निर्माता रामकृष्ण तिमल्सेनासँगको सम्झौता सकिएपछि उनले कार्यक्रम छाडिन् । तर, त्यसपछि तिमल्सेनाले पहिल्यै प्रसारण भइसकेका कार्यक्रमको छोटाछोटा भिडियो क्लिप जोडेर अश्लील हेडलाइन र चित्र राखी पुनः प्रसारण गर्न थाले ।

युट्यूबमा ‘टीआरपी’ बढाउन तिमल्सेनाले गरेको यस्तो हर्कत भीमाको जीवनमा भने अकल्पनीय संकट बनेर भित्रियो । दुःख गरेर बनाएको करिअर हेर्दाहेर्दै चौपट हुनथाल्यो । परिवारमा झै–झगडा नियमित बन्यो । कतिसम्म भने, साथीहरूले ‘पैसाका लागि तिम्रो ममीले यस्तोसम्म गर्ने रैछिन् !’ भनेर घोचपेच गर्न थालेपछि किशोरकिशोरीको क्षेत्रमा काम गर्ने उनकी २१ वर्षीया छोरी डिप्रेसनको शिकार भइन् ।

‘पहिले मलाई नै रोलमोडल ठान्ने छोरी अहिले ‘नाङ्लोमा पसल थापेको भए यो बेइज्जत हुन्थेन ममी’ भन्छे, १६ वर्षको छोराको पनि त्यही हालत छ,’ महानगरीय प्रहरी परिसर, काठमाडौंमा भेटिएकी भीमाले भनिन्, ‘सब्जी पसलदेखि अस्पताल जहाँ जाँदा पनि नराम्रो कुरा सुन्नुपर्छ, साथीहरू पैसाका लागि यस्तो गर्‍छ्यौ भनेर कटाक्ष गर्छन्, आफन्तकोमा त गइनसक्नु छ ।’ तिमल्सेना जिल्ला अदालत काठमाडौंमा २५ हजार धरौटी राखेर रिहा भइसकेका छन् । भीमा भन्छिन्, ‘उसलाई जस्तोसुकै सजाय भए पनि मेलै भोगेको यो यातना र सामाजिक बेइज्जतीको क्षतिपूर्ति कसले तिर्छ ?’

अर्को उदाहरण छ, पाल्पाको । यहाँकी तारा (नाम परिवर्तन) को फेसबूकबाट पोखराका नन्द लामिछानेसँग चिनजान भयो । वैवाहिक जीवन सुखद नरहेकी तारा लामिछानेसँग भाइबर र इमोमा गफिन थालेपछि छिट्टै घुलमिल भइन् । स्नातकोत्तरको पढाइ सकेर बसेकी उनी कुनै राम्रो देश पुगेर ‘सेटल’ हुन चाहन्थिन् । उनको यही मनस्थितिको भेउ पाएका नन्दले आफू क्यानडामा भएको बताए र सहयोग गर्ने आश्वासन दिए । त्यसपछि उनले तारालाई कहिले वेटर तालिम लिएको प्रमाणपत्र बनाउन लगाए त कहिले अंग्रेजी भाषा सिक्न भने । नन्दले जे जे भने, तारा मान्दै गइन् । उनले इमेल मार्फत राहदानी र शैक्षिक प्रमाणपत्र नन्दलाई पठाइन् ।

त्यही दस्तावेजका आधारमा नन्दले क्यानडाको एक प्रतिष्ठित होटलमा ‘वेटर’ का लागि भिसा आवेदन गरिदिएको कागजात बनाएर तारालाई पठाए । खासमा त्यो नक्कली कागजात थियो । ताराले भने त्यसलाई हुबहु पत्याइन् । केही महीनापछि नन्दले ‘दूतावासमा बुझाउनुपर्छ’ भनेर रु.४ लाख मागे । ताराले श्रीमान्लाई थाहै नदिई केही दिनमै रु.३ लाख खोजेर पठाइन् पनि ।

जब खातामा पैसा जम्मा भयो, नन्द सम्पर्कविहीन भए । पोखरा पुगेर उनको घर ठेगानामा बुझ्दा पो थाहा भो– नन्दले गाउँमा धेरैलाई ठगिसकेका रहेछन् । उनी क्यानडा होइन, भारततिर लुकेर बसेका रहेछन् । ताराले प्रहरीमा जाहेरी दिएकी छन् ।

फेसबूकले लमही, दाङकी अनिता (नाम परिवर्तन) लाई पनि ‘घर न घाटको’ बनाइदिएको छ । फेसबूकबाटै चिनेका व्यक्तिको विश्वासमा परेर ४० लाख रुपैयाँ गुमाएपछि उनको जागिर, करिअर, घर सबथोक भताभुंग भएको छ । ऋण खोजेको पैसा अर्कैले खाइदिएपछि ऋण तिर्न नसकेर लुकीलुकी बाँच्नुपरेको छ ।

कुरा दुई वर्ष पहिलेको हो । फेसबूकमा चिनजान भएका काठमाडौंका दिनेश बस्नेत अनितासँग बेलायती नागरिक ‘आन स्मिथ’ को नामबाट कुरा गर्थे । लमहीकै एक विद्यालयमा पढाउने अनितालाई उनले बेलायत लैजाने प्रलोभन देखाए । त्यही प्रलोभनमा परेर अनिताले उनलाई पैसा पठाउँदै गइन् ।

गाउँमा पटक पटक ऋण खोजेर पैसा पठाएकी उनले त्यतिबेला मात्र आफू ठगिएको पत्तो पाइन्, जतिबेला साँवा ब्याज गरेर उनको ४० लाख रुपैया डुबिसकेको थियो । ऋण तिर्न नसकेपछि अनिता अहिले जागिर मात्र होइन, घर समेत छाडेर ‘भूमिगत’ भएकी छिन् । बस्नेत सहित ६ जना विरुद्ध अनिताले दिएको उजुरीको आधारमा काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार र ठगी सम्बन्धी मुद्दा चलिरहेको छ ।

सोसल मिडियाका कारण धनुषाको एक मुसहर वस्तीकी महिलाले पनि नपाउनु दुःख पाएकी छिन् । ती ३५ वर्षीया महिलाको तस्वीर फोटोशपबाट बिगारेर एक युवकले फेसबूकमा हाले । आपराधिक मनोवृत्तिका युवकको यस्तो हर्कतले ती महिला डिप्रेसनको शिकार भइन् । वैदेशिक रोजगारमा गएका श्रीमान् र घरपरिवारले पनि उनलाई साथ दिएनन् । आत्मबल गुमेपछि छिमेकीसँग बोल्न समेत छाडेकी उनलाई महिलाका निम्ति काम गर्ने एक गैरसरकारी संस्थाले आत्मबल बढाउने तालिम दियो । पीडक छिमेकी युवक आफन्त नै पर्ने भएकोले उनले ऊ विरुद्ध मुद्दा दर्ता गर्न सकिनन् । आरोपीले परिवार र समाजको अगाडि गल्ती स्वीकार गर्दै आइन्दा गल्ती नगर्ने वाचा गरे । यो मामिला सामसुम भयो ।

तीन वर्षमा तीन गुणा

नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल (फेसबूक, ट्वीटर, भाइबर, इमो आदि) प्रयोगकर्ताको संख्या बढेको छ । यी साधनहरू प्रयोग गर्ने महिला संख्या पनि ठूलो छ । शेयरकाष्ट इनिसिएटिभ ले गरेको मिडिया सर्वेक्षण २०१९ अनुसार, नेपालमा ३३ प्रतिशत जनसंख्याले नियमित रूपमा इन्टरनेट प्रयोग गर्छ । जनसंख्याको ३० प्रतिशत महिलाले इन्टरनेट प्रयोग गर्छन् । इन्टरनेट प्रयोग गर्ने नेपाली महिलामध्ये ८२ प्रतिशतले फेसबूक प्रयोग गर्छन् । यसपछि धेरै प्रयोग हुने एप्लिकेसन फेसबूककै मेसेन्जर हो । इन्टरनेट प्रयोगकर्ता महिलामध्ये ४५ प्रतिशतले मेसेन्जर प्रयोग गर्छन् ।

सामाजिक सञ्जालहरू वैदेशिक रोजगारमा गएका, विदेशमा बस्ने आफन्तसँग सम्पर्कमा रहन प्रभावकारी सहयोगी बनेका छन् । तर यसको दुरुपयोग उत्तिकै छ । यसले ठगी, ब्ल्याकमेलिङ, आत्महत्या र हत्या जस्ता अपराध समेत निम्त्याइरहेको छ । त्यसको प्रत्यक्ष मारमा छन्, महिला । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको आँकडा हेरौं । कार्यालयले २०७५ साउनदेखि २०७६ वैशाखसम्म विद्युतीय कारोबार ऐन सम्बन्धी ११८ वटा मुद्दा अदालतमा दर्ता गर्‍यो । यसमा धेरै मुद्दा सामाजिक सञ्जाल प्रयोगकर्तासँग सम्बन्धित छन् । अनौठो के भने यी मुद्दामा पीडित महिला १०८ जना छन् भने पीडित पुरुषको संख्या जम्मा ११ जना । त्यसैगरी, मुद्दामा आरोपित पुरुष संख्या १३० छ भने आरोपित महिलाको संख्या ७ मात्रै । सहायक जिल्ला न्यायाधिवक्ता ठाकुरप्रसाद बस्ताकोटीका अनुसार, ‘सामाजिक सञ्जाल दुरुपयोगबाट पीडित हुनेमा ८५ देखि ९० प्रतिशतसम्म महिला छन् ।’

प्रहरीमा दर्ता भएका जाहेरी हेर्दा यो आँकडाभित्रको डरलाग्दो अवस्था छर्लङ्ग हुन्छ । श्रीमान्, मन मिल्ने भनिएको साथी धेरैजसो पीडक छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डीएसपी होविन्द्र बोगटीका अनुसार, परिवारमा झै–झगडा भइरहने पुरुष, श्रीमतीबाट अलग बसेका र प्रेममा धोका पाएका युवक तथा मानसिक रूपमा विक्षिप्त व्यक्तिहरू सामाजिक सञ्जाल दुरुपयोगमा अगाडि देखिन्छन् । सबै उमेर समूहमा यस्तो मनोवृत्ति देखिए पनि प्रहरीको आँकडाले बढी जसो २० देखि ४० वर्ष उमेरका व्यक्ति यो कसुरमा धेरै संलग्न रहेको देखाउँछ ।

देशभरका साइबर अपराध सम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा मात्रै चल्छ । देशभर हुने यी अपराधका मुद्दाको अनुसन्धान मूलतः महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले गर्छन् भने मुद्दा चलाउने काम जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत हुन्छ । परिसरका अनुसार २०७५ साउनदेखि २०७६ वैशाखसम्म साइबर अपराधका ११८ जाहेरी दर्ता भएका छन् । आ.व. २०७२/७३ मा यो संख्या ३४ मात्रै थियो । साइबर अपराधको संख्या तीन वर्षमै तीन गुणा वृद्धि भएको यसबाट देखिन्छ । अनुसन्धानमा सहभागी एक जना प्रहरीका भनाइमा समाजमा व्यापक मात्रामा यो समस्या छ तर विभिन्न कारणले प्रहरीसमक्ष साह्रै थोरै मात्रै उजुरीहरू आइपुग्छन् ।

साइबर अपराध, त्यसमा पनि सामाजिक सञ्जाल दुरुपयोगका घटना बढ्दै जानु र महिला नै त्यसबाट धेरै पीडित बन्नुको कारण के हो ? मनोविद् कुँवरका अनुसार, महिलाले जे गरे पनि सहेर बस्छन् भन्ने सोच नै यसको प्रमुख कारण हो । महिलाले आफूमाथि भएका अपराधबारे उजुरी गर्न त परैजाओस्, अरूलाई सुनाउने अवस्था समेत नरहेको उनको बुझाइ छ ।

लेखक तथा अधिकारकर्मी अर्चना थापा समाजमा महिलाको हुर्काइ नै कमजोर र असुरक्षित वर्गका रूपमा हुनुलाई यसको प्रमुख कारण मान्छिन् । उनी भन्छिन्, ‘यसले गर्दा महिला नै गलत मनोवृत्ति भएका व्यक्तिको जालमा फँस्न पुग्छन् ।’

सहायक जिल्ला न्यायाधिवक्ता बस्ताकोटीका अनुसार एकपटक नाता वा सम्बन्ध कायम भइसकेका पूर्वपत्नी, पूर्वप्रेमिका वा एकोहोरो प्रेममा असफल पुरुषहरू महिलामाथि बढी आक्रामक हुने गर्छन् । सामान्यतया सम्बन्धमा रहँदा सहमतिमा खिचिएको शारीरिक सम्बन्धको भिडिओ सम्बन्ध टुटेपछि सार्वजनिक गरिदिने, फेक आईडी बनाएर अश्लील तस्वीर फेसबूकमा अपलोड र ट्याग गर्ने तथा सामाजिक सञ्जालबाट अरू किसिमले समेत बदनाम गर्ने काम महिला माथि हुने गर्दछ ।

यस्तो अपराध गर्नेमा परिपक्व भइनसकेका युवाहरू मात्रै छन् भन्ने पनि होइन । जस्तो कि, केही महीना पहिले नेपाल प्रहरीका ६२ वर्षीय एक पूर्वडीएसपी सामाजिक सञ्जालमा पूर्वपत्नीलाई अश्लील तस्वीर पठाएर गालीगलौज गरेको आरोपमा पक्राउ परेका थिए । त्यसैगरी, श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेर विदेशमा बस्दै आएका ४५ वर्षीय एक पुरुषले जेठी श्रीमतीलाई सम्बन्धविच्छेदका लागि दबाब दिन यो तरिका अपनाएका थिए । उनले स्काइपमार्फत प्रलोभनमा पारेर उनको नग्न तस्वीर हात पारेर पछि त्यसलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिदिएका थिए ।

अधिवक्ता बाबुराम दाहाल अपराधीको निशानामा जहिले पनि कमजोर वर्ग पर्ने हुँदा समाजमा इज्जत र प्रतिष्ठाको डरले प्रतिक्रिया जनाउन नसक्ने महिला नै यसको निशानामा परिरहेको बताउँछन् । यसले दिनदिनै जघन्य अपराध बढाइरहेको छ ।

जस्तो कि, झापाका केशवशरण अधिकारी लामो समय विदेश बसेर नेपाल आएका थिए । आफन्तको सहयोगमा स्थानीय एक युवतीसँग विवाह गरे । एक दुई महीनापछि नै अधिकारीलाई श्रीमती मन पर्न छाड्यो । उनले श्रीमतीलाई आफ्नो जीवनबाट हटाउने उपाय निकाले । श्रीमती चाहिं आफ्ना श्रीमानको माया पाउन त्यहाँका ज्योतिषी कुमार खनालकहाँ देखाउन जाने गर्थिन् । उनीहरूबीच फेसबूकमा पनि कुराकानी हुन्थ्यो ।

केशवले श्रीमतीलाई डिभोर्स दिन यही सम्बन्धलाई प्रयोग गरे । श्रीमतीकै फेसबूक प्रयोग गरेर कुमारलाई घरमा यौन सम्बन्धका लागि बोलाइदिए । ज्योतिषी कुमार पनि शारीरिक सम्पर्क गर्न पाइने लोभले भनेको समयमा भनेको ठाउँमा पुगे । त्यही समयमा केशव पनि आफन्त र गाउँलेहरू लिएर घेराउ गर्न गए । केशवको योजनामा यो घटना भएको रहस्य खुलेपछि यो विवाद प्रहरीसम्म पुग्यो । केशवलाई प्रहरीले विद्युतीय अपराध मुद्दामा पक्राउ गरेको छ भने ज्योतिषी कुमार खनाल विरुद्ध झापा जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा चलिरहेको छ ।

अधिवक्ता बाबुराम दाहालका अनुसार, फेसबूक, ट्वीटर, इन्स्टाग्राम, युट्यूब, भाइबर, इमो लगायतका ‘एप’ हरूको दुरुपयोगबाट जोगिन महिलाहरू विशेष सजग हुनैपर्छ । महिला स्वयंले शारीरिक सम्बन्धको भिडिओ खिच्ने, ललाईफकाई र प्रलोभनमा परेर आफ्नै नग्न वा आपत्तिजनक तस्वीर पठाउने तथा सामाजिक सञ्जालमा भएको चिनजानकै भरमा आर्थिक लेनदेन वा कारोबार गर्ने मामिलामा सचेत नहुने हो भने उनीहरू फेरि पनि समस्यामा पर्छन् ।

फेसबूक, युट्यूब लगायतका एप्लिकेसनहरू विदेशबाट सञ्चालन हुने हुँदा घटना हुनासाथ नियन्त्रण गर्न सजिलो छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डीएसपी होविन्द्र बोगटी यस्ता अपराध कम गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय, संघसंस्था, आमा समूह लगायतसम्म पुगेर चेतना दिने र सामाजिक सञ्जालको दुरुपयोगबारे सूचना सम्प्रेषण गर्न थालिएको बताउँछन् ।

अरू नै उद्देश्यले बनेको कानून भए पनि यस्तो अपराध नियन्त्रण गर्न अहिले विद्युतीय कारोबार ऐन, २०६३ प्रयोगमा छ । यो ऐन अनुसारको कसुर गर्दा बढीमा पाँच वर्षसम्म कैद वा रु.१ लाखसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । सामाजिक सञ्जाल मार्फत हुने अपराध लगायत सूचनाप्रविधिसँग सम्बन्धित कसुरहरू सम्बोधन गर्न अहिले सूचनाप्रविधि सम्बन्धी विधेयक संसदमा विचाराधीन अवस्थामा छ ।

‘कानूनी उपचार समस्या आएपछि खोज्ने हो,’ मनोविद् करुणा कुँवर भन्छिन्, ‘महिलाले पनि श्रीमान्, प्रेमी वा भरपर्दो साथी भन्दैमा यौनजन्य गतिविधि रेकर्ड गर्नु र अश्लील अवस्थाका तस्वीर खिच्नुअघि गम्भीर भएर सोच्नैपर्छ ।’ उनी भन्छिन्, ‘यसले ठूलो क्षति मात्र गर्दैन, उस्तै परे जीवन नै बर्बाद हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here