‘प्रमाणकै आधारमा भारतसँग टेबुलमा बस्छौँ’

0
44

काठमाडौं : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमाणकै आधारमा सीमा विवाद समाधान गर्न भारतसँग टेबुलमा बस्ने बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।

‘सीमा विवादको विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ’, प्रवक्ता बाँस्कोटाले भने, ‘प्रमाणका आधारमा हामी भारतसँग टेबुलमा बस्न सक्छौँ।’ सञ्चारमन्त्री बाँस्कोटाले नेपाललाई अर्काको एक इन्चपनि भूमि नचाहिने भन्दै आफ्नो भूमि फिर्ता गराएर छाड्ने प्रतिवद्धता जनाए।

उनले सीमा विवादको समाधानका लागि सरकारले परराष्ट्रमन्त्रालयमार्फत पहल गरिरहेको बताएका छन्। ‘सीमा विवाद नयाँ होइन, यो पुरानो समस्या हो,’ प्रवक्ता बाँस्कोटाले भने, ‘यसको समाधानका लागि वार्ताको आरम्भ गरिसकेका छौँ।’

उनले कालापानी र लिपुलेक नेपालकै भएको र प्रमाणका आधारमा लिम्पियाधुरासमेत दाबी गरेको उल्लेख गरे। ‘कालापानी र लिपुलेक हाम्रै हो’, उनले भने, ‘प्रमाणका आधारमा लिम्पियाधुराको दाबी गरेका हौँ।’

तथ्य र प्रमाणले स्थापित भएको कुरा भारतले स्वीकार गर्नुपर्ने उनको भनाइ छ। मन्त्री बाँस्कोटाले कालापानी मात्र नभएर सुस्ता पनि आफ्नै भएको बताए। उनले भारतीय राजपत्र, नक्सालगायत प्रमाणले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म नेपालकै भएको देखिएकाले प्रमाण पेश गर्न सहज भएको उल्लेख गरे।

उनले भारतले नेपालको सार्वभौमसत्ता स्वीकार गर्नुपर्नेमा जोड दिए।

पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले मंसिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयसमेत सार्वजनिक गरेका छन्। मन्त्रिपरिषद्ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठनको निर्णय गरेको छ।

‘नेपाल–भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी सहसचिवस्तिरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ’, प्रवक्ता बाँस्कोटाले भने। सँगै मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here