पूर्व राजाको नाच

0
63

विगत ४८ वर्षमा भारत यात्रामा मैले सधैं सुन्ने गरेको एउटा साझा कुरा हो राजनीतिज्ञलाई गाली÷आलोचना। त्यस्तो आलोचना गर्ने अधिकार लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको छ। त्यसैले नेतालाई जति गाली गरे पनि भारतीय लोकतन्त्रमाथि आँच आएको छैन। भारतमा लोकतान्त्रिक प्रणाली निरन्तरको अभ्यासले जिवन्त छ र खारिँदै सवल हुँदै गइरहेको छ। त्यहाँ पनि परिमार्जनको बहस चलेको छ तर लोकतान्त्रिक व्यवस्था फाल्नुपर्छ, लोकतन्त्रको प्राण हरण गर्नुपर्छ भनेको सुनिँदैन। किनकि लोकतन्त्रको प्राण हरण गर्दा नागरिकको स्वतन्त्रता हरण हुन्छ। यसैगरी जनताको अधिकार हरण गर्दा लोकतन्त्रको चीर हरण हुन्छ भन्ने त्यहाँका नागरिकले बुझिसकेकाले भारतमा लोकतन्त्रको विकल्पको बहस त्यति सुनिँदैन।

नेपालमा पनि गणतन्त्र स्थापना भएको ११ वर्ष बितिसकेको छ। यो ११ वर्षमा गणतन्त्र उल्टाउनु भनेको आफ्नै स्वतन्त्रतामाथि बन्चरो प्रहार गर्नु हो, राजतन्त्र ब्युँताउनु भनेको देशको भविष्यमाथि ग्रहण लगाउनु हो भन्ने आम नेपालीले बुझिसकेका छन्। तसर्थ गणतन्त्रविरुद्ध पूर्व श्री ५ र पूर्व श्री ३ का हुक्के, बैठके, ढोके र छातेहरूले विष बमन गर्दैमा टिप्पणी गरिहाल्नु पर्दैन। तर, सुशासनको प्रत्याभूति हुन सकेन, सरकार विकासमुखी हुन सकेन, राज्यसंयन्त्र सेवामुखी हुन सकेनन् र समग्र समाज उद्यममुखी हुन सकेन भने नागरिकको असन्तोष चुलिन्छ। त्यस्तो असन्तोष बारुदजस्तो हुन्छ।

सन् १९७० मा राज कपुर निर्देशित हिन्दी चलचित्र मेरा नाम जोकर प्रदर्शन भएको थियो। उक्त चलचित्रको नाम लिनासाथ सस्पेन्डर्स प्यान्ट लगाएको जोकर पात्रको स्मृति आज पनि कतिपयको मानसपटलमा छचल्किन्छ। एक सातापहिले मध्यरातमा काठमाडौंको ठमेलस्थित एउटा नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्रको सस्पेन्डर्स प्यान्ट र टाइसहितको वस्त्र र हाउभाउ हेर्दा मेरा नाम जोकरको विदुषक पात्रको याद आयो। नाइट क्लब जान नहुने ठाउँ होइन। अझ भनौं अहिलेका सहरी युवा पुस्ताको रात्री चर्या भइसकेको छ नाइट क्लब। पूर्व राजा ज्ञानेन्द्र नाइट क्लब जानु हुँदैनथ्यो भन्ने पनि होइन। कानुनले निषेध गरेको ठाउँबाहेक अन्यत्र कहाँ जाने कहाँ नजाने, त्यो व्यक्तिको इच्छा हो।

त्यसमा अरूले धेरै टिप्पणी गर्नु आवश्यक छैन। तर, ठमेलको उक्त नाइट क्लबमा छोरीबुहारीसहित पुगेका ज्ञानेन्द्रले कोट फुकालेर हावामा फनफनी किन घुमाए होला ? मैले बुझ्न सकेको छैन। स्मरणीय छ कालापानीमा भारतीय अतिक्रमणबारे ज्ञानेन्द्र चुइक्क बोलेका छैनन्। तर ठमेलको नाइट क्लबमा कोट खोलेर फनफनी घुमाएको देख्दा लाग्थ्यो मानौं उनी कालापानी अतिक्रमण गरेर बसेका भारतीय सेनालाई एक्लै खेदेर आएका छन्।

त्यसो त हिन्दु समाजमा बुढेसकालमा तीर्थ, व्रत, पूजा पाठमा ज्यादा रमाउने संस्कार छ। यसको ठीकविपरीत ७० वर्ष नाघेका पूर्व राजाको रुची नाइट क्लबमा पोखिएको छ। जो जहाँ जाँदा सन्तोष हुन्छ त्यही उसका लागि उचित हुन्छ। तर, मैले नबुझेको तथ्य ठमेलको नाइट क्लबमा पूर्व राजाले के त्यस्तो दिव्य अनुभूति गरे जसका कारण फ्लाइङ किस (हवाई चुम्बन) फ्याँक्न पूर्व राजालाई उत्प्रेरित गर्‍यो। शिशु नांगो हिँड्दा स्वाभाविक मानिन्छ तर वयस्क नांगै हिँड्न थाल्यो भने टिप्पणी फरक हुन्छ।

ज्ञानीहरू सत्यलाई स्वीकार्छन्। अज्ञानीहरू मित्थ्यामा रमाउँछन्। विजेताहरू इतिहास बनाउँछन्, पराजितहरूले पनि इतिहास बनाउँछन् तर जसले कुण्ठा सजाउँदैनन्। देश दुखेको बेला उत्ताउलो चरित्र प्रदर्शन गर्नेहरू सन्की मात्र होइन, मानसिक रूपमा दरिद्र पनि हुन्।

सुशासन शब्दमा होइन व्यवहारमा अनुभूत हुनुपर्छ। राजनीतिक सामाजिक आर्थिक क्षेत्रमा सुधारका लक्षणहरू देखिन थाल्यो भने सुनौलो भविष्यको संकेत गर्छ। बीउ नछरी÷नरोपी विरुवा उम्रँदैन। विरुवा नहुर्की फल लाग्दैन।
नेपाली समाज अहिले विभिन्न दुर्व्यसनले आक्रान्त छ। त्यसमध्ये एउटा हो जुवाको दुर्व्यसन। सन् ६० को दशकमा जुवाघर अर्थात क्यासिनो राजा महाराजाको काँध चढेर नेपाल भित्रियो। सन् १९६६ मा खुलेको शाही स्वामित्वको (हाल पूर्व राजा ज्ञानेन्द्रको समेत) होटल सोल्टीको उद्घाटन राजा महेन्द्रले गरेका थिए। त्यसको दुई वर्षपछि महेन्द्रका भाइको पहलमा दक्षिण एसिया÷एसियाकै पहिलो क्यासिनो सोल्टी होटलमा भित्रियो। चीन र भारत जस्ता देशमा (भारतमा आंशिक) आज पनि अवैध मानिएको क्यासिनो नेपालमा दर्जनको हाराहारीमा पुगेका छन्। साम्यवादी÷समाजवादी सरकारको कृपाले नेपालमा क्यासिनो विस्तार हुने क्रम जारी छ। यहाँसम्मकि पवित्र धार्मिकस्थल लुम्बिनीनजिकै भैरहवामा दक्षिण एसियाकै सबैभन्दा ठूलो क्यासिनो खुलेको छ भने बुद्ध सर्किटमा अनेकौं क्यासिनो खुल्ने चक्करमा छन्।

वैधानिक रूपमा नेपालीहरूले क्यासिनोमा खेल्न नपाउने भनिए पनि कतिपय क्यासिनोका स्थायी ग्राहक नेपाली छन्। क्यासिनो एडिक्ट नेपालीहरूको संख्या प्रशस्त छ भन्दा फरक पर्दैन। क्यासिनोकै कारण कतिपयले घरवार गुमाएका छन् कतिपय जालसाजी र किर्तेमा संलग्न हुन पुगेका छन् त कतिपयले अपराधको बाटो समातेका छन् कतिपय कंगाल भएका छन् र अपराध बढेको छ तर पनि नेपालबाट क्यासिनो विस्थापित गर्ने इच्छाशक्ति वामपन्थी सरकारमा छैन किनकि क्यासिनो माफियाहरूको जरो गहिरो छ।

क्यासिनोमा जस्तै राजपरिवारका सदस्यहरूको अनेकांै क्षेत्रमा आर्थिक लगानी छ जसमध्ये टोवाको कम्पनी पनि एक हो। पूर्व राजाको लगानीको चुरोट कम्पनी नाफामा चलेको छ त्यसकारण यसका प्रयोगकर्ताहरूको स्वास्थ्य घाटामा जानु स्वाभाविक हो। भुटानजस्तो देशले सुर्ती र सुर्तीजन्य पदार्थको उत्पादन र बेचविखनमा पूर्ण प्रतिबन्ध लगाएको छ। नेपालले भुटानबाट सिक्न सक्छ तर सिक्नु त कता हो कता विश्व स्वास्थ्य संगठनको सिफारिसलाई समेत लत्याएको छ। स्मरणीय छ, विश्व स्वास्थ्य संगठनले चुरोटमा ७० प्रतिशतसम्म कर लगाउन सिफारिस गरेको छ। तर, नेपालमा चुरोटमा कर ३३ प्रतिशतभन्दा बढी छैन।

यसैबाट सुर्ती माफियाहरूको प्रभाव थाहा हुन्छ। नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्ने सुर्तीजन्य पदार्थको उत्पादन र आयातमा वामपन्थी सरकारले प्रतिबन्ध लगाउला भन्ने कतिपयले सोचेका थिए तर सुर्ती माफियाहरूलाई तह लगाउने इच्छाशक्ति नेकपाको सरकारसँग छैन। जनतालाई रोगी बनाउने यस्तै धन्दाबाट आर्जेको रकम चन्दा सहयोगका रूपमा राजनीतिक दलहरूलाई जान्छ। त्यसैले राजनीतिक दलहरूले आयको स्रोत सार्वजनिक गर्दैनन्।

नेपाली युवा पुस्ता अहिले लागू औषध दुर्व्यसनले आक्रान्त छ। दुर्व्यसनका घटनाहरू तीव्र गतिमा बढिरहेको छ। एक अनौपचारिक आकडाअनुसार सहरका हरेक ७ वटा घरमा एकजना दुर्व्यसनी भेटिन्छन्। यसैगरी मदिरा दुर्व्यसन अर्को ठूलो समस्या हो। अहिलेको समाजमा मदिराको सेवन सामान्य र स्वाभाविक मानिन्छ तर त्यही मदिराको अत्यधिक सेवनले परिस्थितिलाई असामान्य र अस्वभाविक बनाउँछ। मदिरा दुर्व्यसन भन्नाले अत्यधिक सेवनलगायत उमेर नपुगेकाहरूले मदिरा सेवन गर्ने क्रमलाई जनाउँछ। घरेलु हिंसाको एक प्रमुख कारण यस्तै दुर्व्यसन रहेको छ। मूलतः बाल दुव्र्यवहार र बाल यौनशोषणका घटनाको पछाडि दुर्व्यसन प्रमुख कारण रहिआएको छ। तसर्थ, बालबालिका बचाउ अभियान र दुर्व्यसन रोकथाम अभियानलाई एक साथ अगाडि बढाउनु आवश्यक छ।

मदिरा दुर्व्यसनका कारण महिला र बालबालिका निरन्तर घरेलु हिंसा, दुव्र्यवहार र यौनशोषणको सिकार भइरहेका छन्। यसकारण पनि दुर्व्यसनविरुद्धको आन्दोलन, मानव अधिकार आन्दोलनको प्राथमिकता बन्नुपर्छ भन्ने सोचले ४ वर्ष अगाडिदेखि शान्ति समाजले युवा पुस्ताकेन्द्रित कार्यक्रमसहित लागू औषध÷मदिरा दुर्व्यसनविरुद्ध अभियान तीव्र बनाउँदै लगेको छ। विशेष गरेर दुर्व्यसनमुक्त विद्यालय, दुर्व्यसनमुक्त समुदाय र दुर्व्यसनमुक्त कार्यस्थलको लक्ष्यसहित सञ्चालित यस अभियानका क्रममा सरकारसँग सहकार्य गर्ने उद्देश्यले थुप्रै पटक छलफलहरू भए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’, र शेरबहादुर देउवा प्रधानमन्त्री छँदा यस विषयमा प्रधानमन्त्रीद्वयसँग तीनपटक विशेष छलफल गरी यस्तो दुर्व्यसनले महामारीको रूप लिनुअगाडि ठोस कदम चाल्न र समस्याको गम्भीरता मनन गरी दुर्व्यसनविरुद्ध राष्ट्रिय अभियान घोषणा गर्न आग्रह गरिएको थियो भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका दर्जनभन्दा बढी शीर्ष नेताहरू र तीन दर्जनभन्दा बढी मन्त्रीहरूसँग भेटघाट÷छलफल गरी यस विषयमा विशेष ध्यानाकर्षण गराइएको थियो। २०७३ सालका सबै मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटी दुर्व्यसनविरुद्धको अभियानलाई तीव्रता दिन आग्रह गरिएको थियो।

सायद हामीले बुझाउन सकेनौ वा उहाँहरूले यो विषयलाई गम्भीर ठान्नुभएन, के कारणले हो हाम्रो आग्रह सम्बोधन गरिएन। ढिलो भए पनि यो अभियानप्रति गम्भीर बन्न सम्माननीय प्रधानमन्त्री ओलीलाई म पुनः आग्रह गर्दछु। दुर्व्यसनविरुद्ध राष्ट्रिय अभियानको घोषणासहित विशेष कार्ययोजना सार्वजनिक गर्ने अवसर अहिले प्रधानमन्त्री ओलीसँग छ। यसैगरी नेपालबाट क्यासिनो हटाउने, चुरोटसहित सुर्तीजन्य पदार्थको उत्पादन र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाउने अवसर पनि प्रधानमन्त्री ओलीसँग छ।

सुर्र्तीजन्य उद्योगबाट जति राजस्व संकलन हुन्छ त्यो भन्दा धेरै गुणा बढी खर्च त्यसबाट लाग्ने रोगको उपचारमा हुन्छ। त्यसका कारण जब व्यक्तिको आयु क्षय हुन्छ त्यसको क्षतिपूर्ति केही हुन सक्दैन। संसारका कुनै पनि देशमा पवित्र स्थलवरिपरी मदिरा बिक्री गर्न पाइँदैन तर नेपाल अपवाद भएको छ। यसैगरी नेपालमा जति सहज ढंगले मदिरा उपलब्ध हुने देश संसारमा अर्को कुनै छैन। यस्तो विकृति अन्त्य गर्ने अवसर प्रधानमन्त्री ओलीसँग छ।

सुशासन शब्दमा होइन व्यवहारमा अनुभूत हुनुपर्छ। राजनीतिक सामाजिक आर्थिक क्षेत्रमा सुधारका लक्षणहरू देखिन थाल्यो भने सुनौलो भविष्यको संकेत गर्छ। बीउ नछरी÷नरोपी विरुवा उम्रँदैन। विरुवा नहुर्की फल लाग्दैन। प्रधानमन्त्री ओलीले दृढ इच्छाशक्तिको परिचय दिँदै विकृतिविरुद्ध अभियानका रूपमा बीउ छर्ने काम अहिले गर्नुभयो भने पछि मिठो फल फल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here