महानायक विवादको शल्यक्रिया

0
26

अहिले नेपाली चलचित्र जगत कोरोना महामारीका बीच पनि तातेको छ । कुनै नयाँ चलचित्रले अपार सफलता प्राप्त गरेको, चलचित्र निर्माण र प्रदर्शनमा अस्वस्थ प्रतिस्पर्धा भएको वा चलचित्र इतिहासमा कुनै चलचित्र वा चलचित्रको पात्रले कुनै इतिहास रचेका कारण चलचित्र बजार तातेको चाहिं होइन । फुर्सदिला उत्पादक, बेरोजगार कलाकारका बीच यसरी चलचित्र जगत तातेको नेपाली चलचित्र क्षेत्रको महानायकको विषयलाई लिएर हो । एउटा टेलिभिजन कार्यक्रमले नायक राजेश हमाललाई महानायकको उपाधिसहित सम्मान गरेको थियो । पछि चलचित्र प्राविधिक संघले पनि औपचारिक रूपमा उनलाई महानायकको उपाधि दिएको थियो । नेपाली चलचित्र जगतमा राजेश हमालको महानायक उपाधिको विषय त्यति विवादमा आएन । शायद नेपाली दर्शकले यसलाई सहजै स्वीकार मात्र गरेनन्, आफ्नो वास्तविक महानायक राजेश हमाललाई नै निरन्तरता दिएका कारणले कोही कसैलाई चित्त नबुझेको भए पनि मौनप्रायः नै रहे ।

केही समय अगाडि कलाकार दीपाश्री निरौलाले टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा महानायक राजेश हमाल नभएको वा उनलाई महानायकको रूपमा स्वीकार गर्न नसकिने भावसहितको अभिव्यक्ति दिएपछि यो विवादको प्रमुख विषयको रूपमा आयो नेपाली सिने क्षेत्रमा । नायक भुवन केसी र शिव श्रेष्ठ समेत उपस्थित कार्यक्रममा महानायकको प्रसङ्ग उठेपछि एकाएक नेपाली सिने क्षेत्रमा महानायकको बहस पुनः चुलिएको छ । के हो महानायक ? महानायक शब्द विशेषणवाचक शब्द ‘महा’ र ‘नायक’ दुई शब्द मिलेर बनेको शब्द हो । नेपाली बृहत् शब्दकोशले महा शब्दलाई महान् र नायक शब्दलाई कुनै लक्ष्य प्राप्तिका लागि समाजको नेतृत्व गर्ने, मार्गनिर्देश गर्ने व्यक्ति, पथप्रदर्शक, काव्य, नाटक आदि साहित्यिक विधामा प्रधान रूपले चरित्र चित्रण गरिएको पुरुष पात्र भनी विभिन्न शाब्दिक अर्थ लगाएको छ । यसरी शाब्दिक अर्थ सहितको भावमा हेर्दा चलचित्र जगतको नेतृत्व गर्ने वा मार्गनिर्देश गर्ने महान व्यक्ति नै महानायक हो । महानायक र सफल नायक एउटै विषय हुन् ? महानायक चलचित्रका दर्शकहरूका माझ लोकपि्रय तथा आम रूपमा परिचित हुन्छ । महानायक आफ्नो क्षेत्रमा सफल हुनु त पूर्व शर्त नै भयो । एउटा नायक सफल नायक बन्न यो जरूरी छैन कि ऊ लामो समयसम्म चलचित्रमा नायकको भूमिका निर्वाह गरिरहोस् । एउटा मात्र चलचित्रमा अभिनय गरेको नायक सो चलचित्रमा अत्यन्तै सफलता प्राप्त गर्न सक्दछ । महानायकको हकमा पनि शायद यो अनिवार्य छैन होला कि जति पनि चलचित्रमा अभिनय गर्दछ सबैमा सफलता मिलेकै हुनुपर्दछ । फरक यत्ति हो कि एकाध चलचित्रमा अभिनय गरे पनि कुनै नायक सफल बन्न सक्दछ तर महानायक नबन्न सक्दछ । सफल नायक महानायकको आधार भने पक्कै हो ।

धेरै चलचित्र खेल्दैमा महानायक हुने हो ? अमेरिकन मुभिको डटकमले उल्लेख गरेका सफल कलाकारको लागि आवश्यक विभिन्न आठ योग्यता वा विशेषतामध्ये यस क्षेत्रमा निरन्तर समर्पित हुनुलाई पनि एक गुणको रूपमा उल्लेख गरेको छ । आफ्नो क्षेत्रको विकास र विस्तारको लागि लामो समयसम्म लागिरहनु भनेको आफ्नो क्षेत्रप्रति उसको लगाव, झुकाव तथा माया नै हो । नायक निरन्तर समर्पित हुनु भनेको अभिनयको निरन्तरता पनि हो । यस अर्थमा उसले धेरै चलचित्रमा काम गरिसकेको हुन्छ । धेरै चलचित्रमा आवद्ध हुन वा खेल्नु मात्र महत्वपूर्ण कुरा होइन । त्यो क्षेत्रलाई वा आफूले अभिनय गरेका पात्रहरूलाई कतिको न्याय दिएको छ भन्ने कुराले शायद बढी महत्व पाउँछ । भारतमा कलाकार शक्ति कपुर सबैभन्दा धेरै चलचित्रमा अभिनय गर्ने कलाकारको रूपमा लिइन्छ । उनले ७०० बढी चलचित्रमा अभिनय गरेका छन् भने अनुपम खेरले ५०० बढी । अभिताभ बच्चनभन्दा बढी चलचित्रमा अभिनय गर्ने कलाकारको सूची पनि लामै छ । परेश रावल, कादर खान, जोनि लिवर आदि । के सबै फिल्म हिट नै हुनुपर्दछ ?
सबै कलाकारको इच्छा आफूले खेलेका सबै फिल्म सफल होऊन्, अनि आफ्नो भूमिका तथा अभिनय दर्शकको रोजाइमा परोस् । तर बिडम्वना न त सबै फिल्म सफल हुन्छन् न सबै अभिनय दर्शकको रोजाइमा नै पर्छन् । राजेश हमालका धेरै चलचित्र सफल नभएको बरु नायक भुवन केसी अभिनित प्रायः चलचित्र एकपछि अर्को हिट भएको हुँदा महानायक भुवन केसी हुन् भन्ने मत पनि नभएको होइन । भारतमा पनि अमिताभ बच्चन अभिनित चलचित्र भन्दा बढी हिट भएका चलचित्र छन् । शाहरूख खान, अमिर खान, अक्षय कुमार आदि अभिनित चलचित्रले बक्स अफिसमा कीर्तिमान राखेको पाइन्छ । महानायकको उपाधि चलचित्रमा सक्रिय रहेसम्म मात्र रहने हो ? विवादमा अल्झिनुभन्दा सबै कलाकारले आफूलाई कसरी सफल कलाकारको रूपमा उभ्याउन सक्छु भन्ने विषयमा ध्यान केन्द्रित गर्नु उपयुक्त हुन्छ । चलचित्र क्षेत्रको विकास र विस्तार मार्फत धेरै महानायक महानायिका जन्माउन सक्नुपर्दछ कलाकार दीपाश्री निरौलाले अन्तर्वार्ताकारको प्रश्नमा राजेश हमाल हुनुहुन्छ र ? भारतमा अमिताभ बच्चन त खेलिरहनुभएको छ त भन्दै प्रतिप्रश्न गरेकी थिइन् । त्यसैगरी उनले राजेश हमाल मात्र महानायक भएको प्रोड्युसर, निर्देशक महानायक भएनन् भन्दै त्यस्तो मान्छेले फिल्म क्षेत्रलाई नै हाँकेर लैजानुपर्ने बताएकी थिइन् ।

महानायक यदि नायकको योगदानको पुरस्कार स्वरूप प्रदान गरिने विषय हो भने उसले चलचित्रमा अभिनय गर्न छाड्दैमा ऊ महानायकबाट पूर्व महानायकको रूपमा जाने विषय हुनुहुँदैन । यस्ता उपाधिहरू कार्यकारी वा अन्य यस्तै पदहरू जस्तो आसीन हुने उपाधि पनि होइन । पदाधिकार रहेसम्म पदनाम रहने सिद्धान्त उपाधिहरूमा लागू हुँदैन । त्यसैले त भगवान गौतम बुद्धलाई हामी आज पनि महामानवको रूपमा चिन्दछौं । कांग्रेसजन विश्वेश्वरप्रसाद कोइरालाई महामानव, जननायकको रूपमा मान्दछन् भने स्व. मदन भण्डारीलाई जननेताको रूपमा आज पनि एमालेले सम्मान गरिरहेको छ । यी विषयमा आम नागरिकको मतैक्यता पनि खासै देखिएको छैन । के महानायक एक पटकमा एउटा मात्र हुन्छ ? शाब्दिक रूपमा हेर्दा महानायक एकपटकमा एउटा मात्र हुने विषय जस्तो लाग्दछ । महानायक को हुने, यसका योग्यता के हुने, उपाधि कहिलेसम्म कायम रहने, एक पटकमा कति जना हुने ? भन्ने विषयमा विश्व चलचित्र जगतमा सर्वमान्य मापदण्ड पाइँदैन । नेपाली साहित्य क्षेत्रमा महाकविको रूपमा लक्ष्मीप्रसाद देवकोटा, चित्तधर हृदय, विद्यापतिलाई चिनिन्छ । भलै विद्यापति मैथली भाषा र हृदय नेपाल भाषाका महाकवि किन नहुन् । गायन क्षेत्रमा पनि गायक जीवन शर्मा तथा जेबी टुहुरे दुवैलाई जनगायकको रूपमा आम नेपालीले स्वीकार गरेका छन् । कलाकारको योगदान, योगदानको समयावधि समेतलाई मध्यनजर राखी एक वा बढी कलाकार महानायकको रूपमा सम्मान गर्न नसकिने पनि होइन ।

महानायक उपाधि खोसिन वा फिर्ता हुन सक्छ ? विश्वका प्रतिष्ठित उपाधि तथा पुरस्कारहरू विभिन्न कारणबाट फिर्ता लिइएका वा खोसिएका उदाहरण प्रशस्तै पाइन्छ । कुनै संस्था मात्र होइन राज्यले दिने वा दिएका उपाधि, पुरस्कार स्वयं प्रदान गर्नेले खोसेका वा प्राप्त गर्नेले फिर्ता गरेको पाइन्छ । म्यानमारकी नेतृ सुकीलाई प्रदान गरिएको प्रसिद्ध नोबेल शान्ति पुरस्कार फिर्ताको माग भए पनि आधिकारिक संस्थाले फिर्ताको प्रावधान नभएको जनाएको थियो । बेलायतमा सन् २००८ मा जिम्बावेका नेतालाई प्रदान गरिएको अनरी जी.सी.बी. बेलायत सरकारले फिर्ता गरेको थियो । नेपालमा सरकारले दिएको विभूषण आफूले स्वीकार नगर्ने भनी नलिनेको संख्या बाक्लै देखिन्छ । उपाधि दिने संस्थाले आफ्ना नियम कानूनका आधारमा फिर्ता लिन नसक्ने भन्ने प्रश्न नै रहेन । नेपालमा महानायक उपाधि दिने संस्थाको नियम, कार्यविधिमा पुरस्कार प्रदान गर्ने तथा फिर्ता लिने सम्बन्धमा व्यवस्था गरिएको भएमा सोही प्रक्रिया अवलम्बन गरी फिर्ता गर्न सक्ने नै भयो । भारतीय र नेपाली महानायकको तुलना महानायकको रूपमा भारतमा अमिताभ बच्चनलाई चिनिन्छ भने विवाद उत्पन्न भए पनि आम नेपाली दर्शक महानायकको रूपमा राजेश हमाललाई निःशर्त स्वीकार गरेको देखिन्छ । नयाँ पिंढीका दर्शकमाझ लोकपि्रय बन्न नसके पनि उनलाई त्यो पुस्ताले समेत सम्मान गर्दछ । भारतमा अमिताभ बच्चन निकै प्रख्यात छन् भने नेपालमा हमाल । दुवै महानायकहरू तुलनात्मक रूपमा बौद्धिक मानिन्छन् भने विवादमा कमै आएको पाइन्छ । अभिनय मात्र होइन व्यक्तित्वका हिसाबले पनि दुवैलाई टावर पर्सनालिटीको रूपमा हेरिन्छ ।

चलचित्रका दर्शकका तीनवटै पुस्ताका लागि लोकपि्रय छन् बच्चन । उनले हालसम्म २०० बढी चलचित्रमा अभिनय गरेका छन् । उनले सन् १९६९ मा साथ हिन्दुस्तानी फिल्मबाट आफ्नो अभिनय शुरू गरेका हुन् । पाँच दशक लामो अभिनय यात्रामा उनले खेलेका करीब चार दर्जन चलचित्र हिट भएको बताइन्छ । १९८८ मा युगदेखि युगसम्मबाट अभिनय यात्रा थालेका राजेश हमालले ३०० बढी चलचित्रमा अभिनय गरेका छन् । एउटा गीत, एउटा दृश्यमा मात्र अभिनय गरेका चलचित्र छाडेर मुख्य भूमिका निर्वाह गरेका धेरै चलचित्र सफल भएको देखिन्छ । एक समय राजेशका लागि यस्तो समय थियो कि राजेश हमाल नभएको चलचित्र सफल नै हुँदैन भन्ने मानसिकता चलचित्र क्षेत्रमा थियो । जे पायो त्यही अभिनय गर्ने भनी उनीमाथि आरोप पनि लाग्ने गरेको छ ।
विवादले चलचित्र क्षेत्रलाई फाइदा पुग्छ ? आधुनिक समयमा द्वन्द्व वा विवादलाई कुनै पनि क्षेत्रको विकासका लागि आवश्यक तत्वको रूपमा मान्ने गरिन्छ । विवाद असन्तुष्टि भएन भने कुनै पनि क्षेत्र प्रगतिको दिशामा जान सक्दैन । त्यसैले विवाद, द्वन्द्व आवश्यक छ । तर यस्ता विवाद वा द्वन्द्व सकारात्मक उद्देश्यबाट प्रेरित हुनुपर्दछ न कि व्यक्तिगत इबी वा लाञ्छना केन्द्रित । महानायक को हो वा हुने भन्ने विषय समग्र चलचित्र जगतको हितको विषय बन्न सक्दैन । विवादले न राजेश हमाल रंगिन बन्न सकेका छन् न त उहाँ महानायक होइन भन्नेहरू नै ।

बहस कता केन्द्रित गर्ने ? यसरी विवादमा अल्झिनुभन्दा सबै कलाकारले आफूलाई कसरी सफल कलाकारको रूपमा उभ्याउन सक्छु भन्ने विषयमा ध्यान केन्द्रित गर्नु उपयुक्त हुन्छ । चलचित्र क्षेत्रको विकास र विस्तार मार्फत धेरै महानायक महानायिका जन्माउन सक्नुपर्दछ । यसै पनि नेपालको चलचित्र क्षेत्रको बजार या सम्भावना कमजोर छ । नेपाली चलचित्र संख्यात्मक वा गुणात्मक दुवै हिसाबले पछाडि परेको क्षेत्र हो । भारतीय वा अन्य विदेशी चलचित्रको चपेटामा परेका चलचित्रहरू तिनै भारतीय चलचित्रका नेपाली रूप हुन् भन्ने गरिन्थ्यो । अर्थात् भारतीय चलचित्रबाट चोरेर नेपाली चलचित्र निर्माण गर्ने गरेको आरोप लाग्ने गरेको थियो । पछिल्लो समय नेपाली समाजका कथावस्तु टिपेर बनाइएका नेपालीको वास्तविक जीवनसँग मेल खाने चलचित्र बन्न थालेको र दर्शकको मन समेत जित्न सफल हुँदै थिए । वर्षमा मुश्किलले १२/१५ वटा फिल्मले मात्र लगानी उठाउन सफल छन् । ९० प्रतिशत फिल्म दर्शकको रोजाइमा पर्न असफल नै देखिन्छन् । यस्तो अवस्थामा को महानायक वा महानायिका भन्ने विवाद झिकेर दुई कित्तामा बाँडिनुको सट्टा यो फुर्सदिलो समयमा यसको अध्ययन, अनुसन्धान गर्ने, चलचित्र क्षेत्रको गुणात्मक सुधारको लागि के कस्तो नीति, रणनीतिको आवश्यकता छ ? यसमा सरकार, निजी क्षेत्र, कलाकार तथा अन्य सरोकारवाला क्षेत्र निकायको भूमिका के कस्तो हुने हो ? सोको खोजी गर्नुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here