सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

0
51

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ। एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा एमाले सहभागी नहुने निर्णय भएको जानकारी दिए। ‘यो बैठक समाधानका लागि भन्दा पनि सभामुखले देखाउनका लागि गरेको नाटक हो। यो बैठकमा हामी सहभागी हुँदैनौं।’ अन्नपूर्णसँग भट्टराईले भने, ‘एमालेसँग मात्र वार्ता गरे हुन्छ, अरु दललाई राख्न पर्दैन।’

एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। एमालेका एक नेताका अनुसार सभामुखलाई राजीनामा दिनुपर्ने सर्त अगाडि बढाउन लागेको छ। एमालेले सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै संसद् अवरोध गर्दै आएको छ। सभामुखले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई गरेको कारबाही प्रक्रिया अगाडि नबढाएकोप्रति एमाले असन्तुष्ट छ।

एमालेले पार्टी विभाजन गराउन सभामुखले महत्वपूर्ण भूमिका खेलेको आरोप लगाउँदै आएको छ। सभामुखले सोमबार दिउँसो २:३० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय छलफल बोलाएका छन्। सर्वदलीय छलफलमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ। छलफलमा प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्कमल दाहाल प्रचण्डलाई सभामुखले बोलाएका छन्। त्यस्तै नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवलगायत संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेतालाई पनि बैठकमा बोलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here