नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव नवराज घिमिरेले दिएको जानकारीअनुसार यही साता चक्रपथमा गुडिरहेको बसभित्र एक महिला बेहोस भइन् । सबै यात्रुहरु ‘कोरोना–कोरोना’ भन्दै ओर्लिए र भागे । बसभित्र चालक र सहचालक मात्र बाँकी रहे । चालक र सहचालकले बेहोस यात्रुलाई उद्धार गरेर अस्पताल पुर्‍याए । तर, प्रहरीले उल्टै गाडी चालकलाई थुनामा लियो । सोधपुछ गर्नुपर्छ भन्दै यात्रुको होस नआउँदासम्म उनलाई छाडिएन ।सरकारले बुधबार सार्वजनिक गरेको १८ बुँदे निर्णयको बुँदा नम्बर ५ र ६ मा सार्वजनिक सवारी साधनबारे केही निर्देशनहरु जारी गरिएका छन् । सरकारले जारी गरेको निर्देशनमा सार्वजनिक सवारी साधनमा भीडभाड गरी यात्रा नगर्ने, सीट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने अनि सार्वजनिक यातातातका साधनहरु चलाउनुअघि नियमित सरसफाइ गर्नुपर्ने भनिएको छ ।

यसलाई एउटा संयोग नै मान्नुपर्छ, सार्वजनिक एवं भाडाका सवारी साधनमा कोरोनाको जोखिमबाट बच्न सरकारले निर्देशन दिइरहँदा बुधबारकै दिन यातायात व्यवस्था विभागले यायायात मजदुर संगठनका नेताहरुलाई छलफलका लागि आफ्नो कार्यालयमा बोलाएको थियो । छलफलका क्रममा यातायात मजदुरका नेताले सरकारसँग माग गरे, ‘हामीलाई मास्क र स्यानिटाइजर उपलब्ध गराइदिनोस् । सरकारले निशुल्क उपलब्ध गराउन सक्दैन भने पनि ठिकै छ, सुलभरुपमा किन्ने ठाउँ देखाइदिनोस्, हामी यात्रुहरुलाई ढोकैमा स्यानिटाइजर प्रयोग गरेर गाडी चढ्ने प्रवन्ध गर्छौं । आफैंले किनेर यातायात मजदुरहरुलाई अनिवार्य मास्क लगाउन भन्छौं ।’ विभागमा बुधबार भएको छलफलमा यातायात मजदुरहरुले अर्को माग पनि राखे, ‘सरकारले कमसेकम उपत्यकाका विभिन्न स्टेसनहरुमा चालक, सहचालक र यात्रुहरुका लागि ज्वरो नाप्ने उपकरणसहित हेल्थ डेस्कहरु राखिदेओस् । तर, यातायात व्यवस्था विभागका अधिकारीहरुले आफ्ना मागप्रति बेवास्ता गरेको यातायात मजदुर संगठनका नेताहरुको गुनासो छ । सरकारले यी माग तत्काल पूरा गर्न नसक्ने जवाफ दिएको छलफलमा सहभागी मजदुर नेताहरुको गुनासो छ ।काठमाडौंमा पैसा तिरेर पिसाब फेर्ने ठाउँको समेत अभाव हुने गरेको अवस्थामा अनिवार्यरुपमा हात धुने सचेतना सैद्धान्तिक रुपमा सही भएता पनि यातायात मजदुरका लागि व्यवहारिक प्रयोगमा आउन नसकेको मजदुर नेताहरुको तर्क छ । सरकार र यातायात व्यवसायीहरुले विभिन्न ठाउँमा हात धुने ठाउँहरुको प्रवन्ध गरिदिनुपर्ने यातायात मजदुरहरुको माग छ । ‘विडम्बनाको कुरो, हामी यातायात मजदुर यस्तो ठाउँमा काम गर्छौं, जहाँ सार्वजनिक शौचालय पनि छैन । भएको शौचालयमा पनि पैसा तिर्नुपर्छ ।’ नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले अनलाइनबरसँग भने, ‘हामी हात मिचीमिची धुनुपर्छ भन्दैछौं, तर यातायात मजदुरहरु शौचालयसम्म जान नपाउने अवस्था छ ।’ यातायात मजदुर संगठनका नेताहरुले भनेजस्तै यसलाई विडम्बना नै मान्नुपर्छ, काठमाडौं महानगरपालिकाले आफ्नो आम्दानी बैंकमा थन्क्याएको छ । तर, राजधानीका सार्वजनिक शौचालयहरुमा पिसाब फेरेको ५ रुपैयाँ लिने गरिन्छ । तर, शैचालयमा स्यानिटाइजर लगायतका सामग्रीको प्रवन्ध गरिएको छैन । यस्तो लाग्छ, महानगरपालिका अर्थात् आफूलाई कम्युनिष्ट बताउने सरकारसँग नागरिकहरुको स्वास्थ्यप्रति न कुनै दायित्व छ, न लगानी । यस्तोबेलामा सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुले हात धुने सुविधा त धेरै परको कुरा हो । यस्तो बेलामा सरकारले कमसेकम सार्वजनिक यातायातलाई सुरक्षित बनाउने प्रवन्धहरु गर्न सक्नुपर्ने हो । आखिर, कोरोनाको जोखिम बढेसँगै नेपालको सार्वजनिक यातायातको क्षेत्रले भोगिरहेका चुनौती र जोखिमहरु के–कस्ता छन् ? यसबारे अनलाइनखबरले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र महासचिव नवराज घिमिरेसँग संयुक्त कुराकानी गरेको छ ।

कुराकानीका क्रममा दुबै नेताहरुले सार्वजनिक यातायातको क्षेत्रमा स्वास्थ्यसम्बन्धी जोखिम उच्च हुनुका साथै मजदुरहरुको रोजीरोटीमाथि पनि ठूलो संकट आउन थालेको खतरनाक जनाऊ दिए । अध्यक्ष र महासचिव दुबैको संयुक्त भनाइ उनीहरुकै शब्दमा :– सार्वजनिक यातायातमा कोरोनाको उच्च जोखिम छ भीम ज्वाला राई/नवराज घिमिरे कोरोनाको जोखिम र रोजगारीको असर यातायात क्षेत्रमा बढी पर्ने देखिन्छ । संक्रमण पनि यही क्षेत्रमा बढी हुने सम्भावना छ र रोजगारीमा पनि यातायात क्षेत्रमा विशेष असर पर्ने देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भन्दैछ । अत्यावश्यक काम नभएकाहरुले घरबाट बाहिर ननिस्किनु पनि भन्दैछ । तर, सार्वजनिक यातायात सेवाको क्षेत्र कस्तो प¥यो भने २५ जना मात्र होइन, दिनमा कम्तिमा सय जनासँग नजिक हुनुपर्छ, उनीहरुलाई छुनुपर्छ रसामानहरु बोकिदिनुपर्ने, गाडीमा हालिदिनुपर्ने हुन्छ । यसरी यात्रुहरुलाई सहयोग गरिदिनुपर्ने प्रकृतिको काम भएको हुनाले बढीभन्दा बढी जोखिम सार्वजनिक यातायातमा देखिन्छ । बुधबार यातायात मन्त्रालय अन्तरगत रहेको यातायात व्यवस्था विभागमा हामी गयौं । त्यहाँ हामीले के भन्यौं भने हामी त अत्यन्तै जोखिमपूर्ण क्षेत्रमा काम गर्दैछौं । सरकारसँग हामी धेरै कुराको अपेक्षा गर्दैनौं, मात्रै मास्कको व्यवस्थापन गरिदिनोस् । स्यानिटाइजरको व्यवस्थापन गरिदिनोस् । यी चिजहरु सरकारले निशुल्क उपलब्ध गराउन सक्दैन भने त्यो कहाँ पाइन्छ, हामीलाई भनिदिनुस्, हाम्रा यातायात मजदुरहरुले आफैं खरिद गर्छौं भन्दाखेरि यातायात व्यवस्था विभागका तर्फबाट यो कुनै पनि काम हामी गर्न सक्दैनौं, अहिले कहाँ पाइन्छ भनेर भन्न पनि सक्दैनौं भन्नेखालको जवाफ आयो । हामीले सरकारलाई भन्यौं, त्यसोभए कमसेकम उपत्यकाभरि हामी जुन–जुन ठाउँमा काम गर्छौं, त्यसलाई पहिचान गरेर त्यहाँ हेल्थ डेस्कको व्यवस्थापन गरिदिनोस् । कोरोना संक्रमणको जाँच त टेकुबाहेक अन्यत्र गर्न नसकिएला, तर सामान्य ज्वरो मापनकाका कुराहरुमा निश्चित ठाउँमा यातायात मजदुरहरु र यात्रुहरुले सहुलियत पाउनेगरी हेल्थ डेस्कहरु व्यवस्थापन गरिदिने हो भने यसले सार्वजनिक यातायातलाई सहज बनाउँछ । यसलाई हामी अगाडि बढाउँला भनेर उहाँहरुले (विभागका अधिकारीहरुले) भन्नुभएको छ । हामीले राखेका मागहरुका सन्दर्भमा सरकारी स्तरबाट पनि खासै तयारी भएको हामीले पाएनौं । रुटको एक रुपता नहुँदा कहिले काहिँ भिडभाड पनि हुने अवस्था छ । सरकारले २५ जना भन्दा बढी भेला नहुनु भएको छ । २६ जना यात्रु हुँदा कसलाई झर्नुस् भन्ने ? यो निर्णय अलि व्यवहारिक भएन कि ? हामीलाई ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले छलफलमा बोलाएको थियो । हाम्रोतर्फबाट केही गरोस् भन्ने उहाँहरूको चाहना देखिन्थ्यो । यसै गरौं भनेर केही भन्नुभएन । उहाँहरू पनि अन्योलमा हुनुहुन्थ्यो । यातायात मजदुरहरू कोरोनाको जोखिममा छन् । सबैखाले यात्रुहरू सवारी साधन चढ्छन् । यात्रा मजदुरहरूले एकै दिनमा सयौं यात्रुलाई बस चढाउने/ओराल्नु गर्नुपर्छ । उहाँहरूसँग पैसा लिनुपर्छ । सरकारले कोरोनाको लक्षण यो यो हो भनेर पर्याप्त प्रचार प्रसार गर्न सकेको छैन । बरु हामी आफैले कोरोनाबारे चेतना जगाउने पम्पलेट बाँडेका छौं । मजदुर, यात्रुलाई नआत्तिनुस् भनेका छौं । परिचालकहरू मार्फत यात्रुहरूलाई सकेसम्म मास्क लगाएर चढ्नुस भन्न लगाएका छौं । विमानस्थलमा सचेतना अपनाउने काम गरेका छौं । पानीको ट्याङ्की ल्याएर राख्ने सोच बनाएका छौं ।

मास्क, स्यानिटाइजर पाइने हो भने हात सफा गरेर मात्रै चढ्नुस् भन्न पनि तत्पर छौं । तर, हामीले किन्छौं भन्दा पनि मास्क, सेनीटाइजर पाइरहेका छैनौं ।हाम्रो सगंठनका तर्फबाट हामी आफैंले यातायात मजदुरहरुमा सचेतना जगाउने कामहरु गरिराखेका छौं । हामीले पर्चाहरु वितरण गर्‍यौं । हात धुनुपर्छ पनि भन्यौं । मास्क र स्यानिटाइजर लगाउनुपर्छ पनि भन्यौं । समस्या कहाँ छ भने २० सेकेन्डसम्म हात मिचेर धुनुपर्छ भनिन्छ । तर, विडम्बनाको कुरो, हामी यातायात मजदुर यस्तो ठउाँमा काम गर्छौं, जहाँ सार्वजनिक शौचालय पनि छैन । भएको शौचालयमा पनि पैसा तिर्नुपर्छ । पैसा तिरेर शौचालय जान्छु भन्दा पनि सबैतिर उपलब्ध छैन । हामी हात मिचीमिची धुनुपर्छ भन्दैछौं, तर यातायात मजदुरहरु शौचालयसम्म जान नपाउने अवस्थामा यो सचेतना सन्देश प्रवाह गरेर पनि हामीले भनेको कुराहरु मजदुरले गर्न नसक्ने स्थिति छ । सरसफाइको जहाँसम्म कुरा छ, हाम्रा यातायात मजदुरको हात सफा हुनुपर्ने त भइ नै हाल्यो, तर सार्वजनिक सवारी साधनको सफाइ महत्वपूर्ण कुरा हो । सार्वजनिक यातायातमा संक्रमित व्यक्ति चढेको हुनसक्छ । त्यहाँ उसले समातेका ठाउँमा अरु मानिसले छोयो भने त्यहाँबाट पनि संक्रमण हुन सक्छ । त्यसकारण मूल कुरा त सवारी साधन सफा गर्ने कुरा हो । यसका निमित्त यातायात व्यवसायीहरु अर्थात सरकारले गम्भीरता अपनाउनुपर्छ । राज्यले गम्भीरता अपनाउनुपर्छ । अर्को, कोरोना भाइरस पैसाबाट सर्छ भन्ने पनि हामीले सुनेका छौं । विशेष गरी यातायात मजदुरका पनि सहचालकहरुले त पैसासँगै खेल्नुपर्ने स्थिति छ । लाइसेन्सको जरिवाना तिर्न जाँदा लाइन बस्नुपर्ने अवस्था छ । सरकारले जरिवाना तिर्ने म्यादमा पनि विचार गर्नुपर्‍यो । कोरोनाका कारणले भिडभाड गर्नुपर्दैन भनेर यातायात व्यवस्था कार्यालयमा भन्नु पर्‍यो । उपत्यकामा मात्रै हामी चार लाख र देशभरि गरी १० लाख यातायात मजदुरहरु छौं । ठेक्कापट्टा प्रणाली छ । साहुजीलाई पूरा पैसा बुझाउनै समस्या छ । यसमा सार्वजनिक यातायातका साहुजीहरुले पनि सोच्नुपर्छ । रोजगारीमा चुलिँदो संकट देशभरि भएका चार लाख कालो प्लेटका सवारी साधनमध्ये कोरोनाकै त्रासका कारणले अहिलेसम्म करिब ५० प्रतिशत सवारी साधनहरु चल्न छाडेका छन् । संक्रमणको डरका कारण जुन ५० प्रतिशत सवारी साधनले सेवा दिन छाडेका छन्, यसको प्रत्यक्ष असर यातायात मजदुरहरुको जीवनसँग जोडिन्छ नै । पछिल्लो तथ्यांकअनुसार हेर्दाखेरि देशमा ३५ लाख ३९ हजार ५१९ छन् । यसमा दुईपाङ्रे २५ लाख ३० हजार ७२२ लाई घटाउने हो भने १० लाख ८ हजार ७९७ चार पाङ्रे सवारी साधानहरु नेपालमा छन् । यसभित्र सार्वजनिक सवारी साधन अर्थात यात्रुवाहक सवारी साधनहरु करिब ४ लाख छन् । र, देशभरिमा साढे १० लाख यातायात मजदुरहरु छन् । हामी यातायात मजदुरहरुको कामको प्रकृति नियमित हो । तर, हाम्रो ज्याला लिने तरिका चाहिँ तलबी नभएर दैनिक ज्यालादारीजस्तो छ । काम गरेको बेलामा यातायात मजदुरले भत्ता पाउँछ, नगरेको बेलामा पाउँदैन । काम गरेन भने अरु मजदुरको जस्तो यातायात मजदुरको मासिक तलब भन्ने पनि हुँदैन । भइहाले पनि उनीहरुको तलब अत्यन्तै थोरै हुन्छ । यातायात क्षेत्रमा कसैको तलब छैन । सबै सार्वजनिक सवारी साधन मजदुरलाई भत्ता दिएरै चलाउँछन् । भत्ता त्यतिबेला पाउँछ, जतिबेला सवारी साधन चल्छन् । अर्थात् काम नभएको बेलामा भत्ता पाउँदैन । उनीहरुको जीवन चलाउने भनेको दैनिक भत्ताले नै हो ।

अहिले ५० प्रतिशत नै काममा गिरावट भइसकेपछि ५० प्रतिशत यातायात मजदुरहरुले आफ्नो रोजीरोटी गुमाउँदैछन् । हाम्रो निमित्त यो सबैभन्दा ठूलो चुतौनीको विषय हो । सरकारले अत्यावश्यक कामबाहेक बाहिर नजान भन्दै गर्दा हामी यातायात मजदुरहरु दैनिक काममा गएनौं भने गोजी नै खाली हुने अवस्था छ । यो नहुनेवित्तिकै हाम्रो हातमुख जोड्ने समस्या यहाँ जोडिन्छ । यातायात मजदुरको न्यूनतम तीनजना परिवार हुन्छ, उनीहरुको भविश्य पनि यहाँनेर जोडिन्छ । यसले गर्दा कोरोनाको त्रासले निम्त्याएको संकटको प्रभाव यातायात मजदुरहरुलाई पारेको छ । नोवल कोरोना भाइरसले यातायात मजदुरहरुको रोजीरोटीमै प्रत्यक्ष असर पारेको छ । कोरोनाको त्रासले गर्दा काम गर्ने वातावरण छैन । सडकमा यात्रु छैनन् । अत्यावश्क कामका लागि बाहेक बाहिर ननिस्कनु भनीसकेपछि यात्रुहरू स्वतह कम हुने भए । मजदुरहरू आफैं त्रसित पनि छन् । किनभने, सरकारले कुनै कुराको ग्यारेन्टी गरेको छैन । कोरोना आइहाले पनि खतरा छैन, रोकथामको यो–यो उपाय अपनाएका छौं वा यसरी व्यवस्थापन गर्छौं भन्ने सुनिश्चित गर्न सकेको छैन । जहाँसम्म हामी यातायात मजदुरहरुले काम गर्ने सार्वजनिक सवारी साधनको व्यवस्थापनको सवाल छ । यो नितान्त निजी क्षेत्र हो । सरकारको एक पैसा लगानी नभएको ठाउँ हो । यो अवस्थामा हामी यातायात मजदुरहरुले हाम्रो रोजीरोटीमा असर प¥यो भने अब हाम्रो तलब तिमीले भरिदिनुपर्छ भन्दै गर्दा व्यवसायी आफैं पनि संकटमा परेको अवस्था हुन सक्छ । त्यसकारण यो यातायात क्षेत्र भनेको पीडितै पीडितहरुको क्षेत्रजस्तो भयो । त्यसकारण यो सार्वजनिक सवारी साधनजस्तो अत्यावश्यक क्षेत्र र यसमा काम गर्ने हामी यातायात श्रमिकहरुचाहिँ सबैभन्दा बढी कोरोनाको जोखिममा छौं । सँगसँगै रोजगारी गुम्ने जोखिममा छौं । हिजोभन्दा आज गाडीहरु कम कुद्दैछन् । उपत्यका छाड्नेहरुको संख्या पनि बढिरहेको छ । यातायात मजदुरको पारिश्रमिकमा पर्ने संकटको विषयमा त हामीले कल्पना गर्नै सकेका छैनौं । तर, आजै मात्र हामीले राष्ट्रिय यायायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यलाई फोन गरेर भन्यौंं, कमसेकम यातायात व्यवसायको क्षेत्रमा काम गर्ने व्यवसायीहरु र श्रमिकका तर्फबाट मिलेर केही काम गरौं । हामीले यसो भन्दाखेरि उहाँहरुले बसौं भन्नुभएको छ । हामी यातायात मजदुरहरुले यातायात व्यवसायीहरुसँग के अपेक्षा गरेका छौं भन्दा तत्कालका लागि कमसेकम माक्स उपलब्ध गराइदिन सक्ने हो भने मजदुरलाई सुरक्षितरुपमा काम गर्ने वातावरण बन्ने थियो । तर, यति पनि यातायात मजदुरहरुले पाइराखेको अवस्था छैन । यही स्थिति रहिरहने हो भने भोलि श्रमिकहरुले काम गर्न सक्ने स्थिति बन्दैन । तर, यायायात व्यवसायीहरुले यो स्तरमा सोच्नुभएजस्तो लाग्दैन ।

(कुराकानीमा आधारित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here