टीकापुर : नेपाल र भारतको सीमाना छ्ट्याउने नदी हो मोहना । पूर्वमा पथरैया नदी, बीचबाट कान्द्रा र काँढा नदीले घेरिएको छ कैलालीको दक्षिणी भजनी नगरपालिका । जिल्लाकै सबैभन्दा बढी बाढीको जोखिममा रहेको पनि यही नगरपालिका हो ।नदी कटान र पटानीबाट बर्षेनि सयौं विघा खेतीबाली नोक्सान हुँदै आएको भजनी नगरपालिकाको केन्द्र आउन नगरबासीले भने शुल्क तिर्दै आएका छन् ।

एउटै नदी धेरै ठाउँ तरेर नगरपालिका केन्द्र रहेको भजनीसम्म आउनुपर्छ। नगरपालिका भएर बग्ने ती नदीमा पक्‍की पुल छैनन् । वर्षायाममा डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य नगरबासी हिउँदमा काठबाट निर्मित अस्थायी कच्ची पुल तर्न प्रत्येक पटक २० रुपैयाँ शुल्क तिर्दै आएका छन् । भजनी नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि भजनी नगरपालिकाका १३ वटा स्थानबाट डुंगा सञ्चालन ठेक्‍का सम्झौता गरेको छ ।नगरपालिकाले मोहना नदीमा ५ को गुलरिया घाट र कौवाखेडा घाट, ७ को हिम्मतपुर घाट, हलौना घाट र ३ को दैलेखी टोल घाटबाट डुंगा सञ्चालन ठेक्‍का सम्झौता गरेको छ। कान्द्रा नदीमा भजनी नगरपालिका ३ र ५ को जवलपुर मिलनपुर घाट, कर्मदेव पडरिया घाट, ४ र ९ को बिजुलिया डोंगपुर घाट, बिजुलिया पच्मुडिया घाट, पहलवान कुँडी घाटमा डुंगा तर्नुपर्छ। कान्द्रा नदीकै वडा नं. १ र ५ मा लौबस्ता घाट, लालबोझी खैरेनी घाट वडा नं.९ को खुरखुरिया भुरुवा घाटमा डुंगा तर्नुपर्छ । वर्षायाममा डुंगा तर्दा प्रतिव्यक्ति १० रुपैयाँ, साइकलसहित २० रुपैयाँ र मोटरसाइकल ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । भजनी नगरपालिका १ का बडघर भरोसे डगौरा थारुले नगरपालिका केन्द्र रहेको भजनी आउन वर्षायाममा सबैले र हिउँदमा साइकल र मोटरसाइकल चालकले शुल्क तिर्दै आएको बताए ।’वर्षायाममा १३ वटै घाटबाट शुल्क तिरेर डुंगा तर्नुपर्छ,’ थारुले भने, ‘शुल्क तिरेर पनि सानो काठे डुंगाको जोखिमपूर्ण यात्रा गर्न हामी बाध्य छौं।’ २०६८ सालमा भजनी नगरपालिकामा पर्ने माहेना नदीमा सानो काठे डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । ‘नगरपालिकाबाट सेवा लिनका लागि पनि जोखिम मोलेर डुंगा तर्नुपर्ने बाध्यता छ,’ त्यो घटना स्मरण गर्दै थारुले भने ।

नेपाल भारत सीमामा पर्ने ती नदीबाट आउजाउ गर्ने प्रतिव्यक्तिले १० रुपैयाँदेखि ५० रुपैयाँसम्म शुल्क तिर्दै आएका छन् । स्थानीय सरकार आएसँगै डुंगाको जोखिमपूर्ण यात्राबाट मुक्ति पाउने अपेक्षा गरेका भजनी नगरपालिका वडा नं. ३ का हर्क साउँदले रुपैयाँ तिरेर नगरपालिका केन्द्र आउनु परेको गुनासो गरे । ‘सामान्य सिफारिस लिन आउँदा समेत आउन र जाने गरी दुई पटक शुल्क तिर्नुपर्छ,’ साउँदले भने । ‘पहिले पहिले स्थानीयले डुंगा सञ्चालन गर्दै आएकोमा स्थानीय सरकार आएपछि ठेक्‍का दिएर आम्दानीको श्रोत बनाएको छ ।’ नगरपालिका केन्द्र रहेको भजनी बजारसम्म आउन वडा नं. ३ पडरिया भन्ने स्थानबाट कर्मदेव घाट, ठेगरपुरबाट लालबोझी घाट र लौबस्ता घाट, नयाँबस्तीबाट ठेकी घाट र जवलपुर र कौवाखेडाबाट जवलपुर घाटबाट डुंगा तर्नुपर्छ । त्यस्तै नगरपालिका केन्द्र पुग्न वडा नं. ४ को धिरसर्काबाट विलुलिया घाट, वडा नं. ५ को कुँडीबाट भुर्वा घाटमा डुंगा तर्नुपर्छ ।नगरपालिका केन्द्र आउनका लागि वडा नं. २ पल्टुपुरको काँडा नदीमा नगरपालिकाले झोलुंगेपुल निर्माण गरेको छ । अन्य घाटमा झोलुंगे पुल बनाउने योजना रहेपनि अझै निर्माण हुन सकेको छैनन् ।भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले नगरपालिकालाई डुंगा मुक्त नगरपालिका बनाउने बताउँदै आएका छन् । ‘हामीले नगरपालिका केन्द्र आउनका लागि मात्रै नभएर नगरपालिकालाई नै डुंगा मुक्त बनाउने योजना बनाएका छौं,’ चौधरीले भने, ‘यसका लागि प्रदेश र संघीय सरकारसँग हामी पहल गरिरहेका छौं ।’ नगर प्रमुख चौधरीले डुंगामुक्त नगरपालिका बनाउने घोषणा गर्दै आएपनि स्थानीयले भने त्यसतर्फ नगरपालिकाले ध्यान दिन नसकेको आरोप लगाएका छन्। भजनी नगरपालिका ५ लालबोझीका प्रसादे बुढानाले, डुंगा मुक्त नगरपालिका बनाउने घोषणा गरे पनि त्यसतर्फ काम हुन नसकेको बताए । ‘नेताहरु घोषणा त गर्दै आएका छन्, तर कार्यान्वयन भएको छैन,’ बुढाले भने, ‘कम्तीमा पनि झोलुंगे पुलहरु निर्माण गर्न आवश्यक छ ।’ नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा यो आर्थिक वर्षभित्रै वडा नं. २ को काँडा बाँध नजिक काँडा नदी र वडा नं. ४ र ९ को कान्द्रा नदीमा झोलुंगे पुल निर्माण गर्ने उल्लेख गरेको छ । तर निर्माण कार्यका लागि पहल नै नभएको स्थानीयहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here